सीसीआरसीलाई दुई स्वर्ण

table tennis
क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) ले सातौं पूर्णमान वज्राचार्य स्मृति टेबलटेनिस प्रतियोगिताको कलेजतर्फ बुधबार दुई स्वर्ण जितेको छ । पुरुष र महिला डबल्समा सीसीआरसीले स्वर्ण जित्यो ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष डबल्स फाइनलमा सीसीआरसीका कृष्ण थापा मगर र रविन साधाको जोडीले काठमाडौं बर्नहार्टका विलोस श्रेष्ठ र अजेश महर्जनको जोडीलाई ५–११, ११–३, ११–९ र ११–६ को सेटमा पराजित गरे । प्राइमका टेन्डी शेर्पा र सुजन कुँवर तथा निहाल श्रेष्ठ र नारायण घिमिरेको जोडीले तेश्रो स्थानमा चित्त बुझाए ।
महिला डबल्सको उपाधि भिडन्तमा सीसीआरसीका सोनु थापा मगर र रोमी दुवालको जोडीले प्राइमका दिदी एलिना र बहिनी एरिका महर्जनको जोडीलाई ११–९, ११–९, ९–११, ८–११ र ११–७ ले हराउदै पहिलो भए । प्रभातका मन्जु सुवाल र सुजाता दुवाल तथा काठमाडौं बर्नहार्टका सेलिशा खड्गी र समिक्षा महर्जनको जोडी तेश्रो बने । प्रतियोगिताको अन्तिम दिन बिहीबार ५ स्पर्धाको फाइनल हुने आयोजक काठमाडौं जिल्ला टेबलटेनिस संघले जनाएको छ ।

Comment