रजत विजेता विमललाई स्वागत

bimall
छैटौं विश्व शारीरिक सुगठन प्रतियोगिताअन्तर्गत फिट्नेस फिजिक्समा रजत जितेकाविमललाल श्रेष्ठसहितको नेपाली शारीरिक सुगठन टोलीलाई बुधबार स्वागत गरियो ।
भारतको मुम्बईमा मंसिर १९ देखि २४ गतेसम्म भएको उक्त च्याम्पियनसिपको पुरुषतर्फ १ सय ७० सेन्टीमिटर उचाइसम्मको स्पर्धामा विमलले रजत जितेका थिए ।विमलको स्पर्धामा ७ खेलाडी सहभागी थिए । नेपाली शारीरिक सुगठनको इतिहासमा नेपालले फिट्नेस फिजिक्समा पहिलोपल्ट सहभागिता जनाएको हो ।
मुख्य च्याम्पियनसिपमा नेपालबाट तीन खेलाडीले सहभागिता जनाएका थिए । पुरुषको ५५ केजीमा रुजेश शाही, ६० केजीमा रामहरि खनाल तथा ७० केजीमा मिस्टर धर्मश्री विजेता महेश्वर महर्जनले प्रतिस्पर्धा गरेका थिए ।
तीनै खेलाडी पदकविहीन रहे । मिस्टर हिमालय उपाधि विजेता रामहरि भने फाइनलमा चौथो भएको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका सदस्य राजेश श्रेष्ठले जनाएका छन् । रुजेश र महेश्वर प्रिजजिङ राउन्डबाटै बाहिरिए ।
सन् २०१० मा भएको च्याम्पियनसिपको दोश्रो संस्करणमा श्याम श्रेष्ठले विश्व च्याम्पियनसिपमा कांस्य पदक जितेका थिए । त्योनै विश्व च्याम्पियनसिपमा नेपालले हासिल गरेको एक मात्र र सबैभन्दा ठूलो उपलब्धी हो ।
टोलीलाई संघका वरिष्ठ उपाध्यक्ष एवं डिआईजी विजयलाल कायश्थ, उपाध्यक्ष नारायण प्रधानलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

Comment