उद्घाटन खेलमा सानोगौचरण विजयी

pokhara 8 aside

पोखरा
बगर भाइखलक कास्की, नेपालको आयोजनामा बुधबारदेखि पोखरामा ४० वर्षमाथिका खेलाडीको लागि चौथो एस.ओ.एस. ग्रुप बगर भाइखलक एट–ए–साइड भेट्रान्स फुटबल प्रतियोगिता प्रारम्भ भएको छ।
पुरानो टुँडिखेलस्थित राष्ट्रिय उमाविको खेल मैदानमा बुधबार भएको उद्घाटन खेलमा नाइट किड्ड सानोगौचरण काठमाडौं विजयी भएको छ। उसले पोखराको इन्द्रेणी एकीकृत विकास केन्द्र पुरानो टुँडिखेललाई ५–० ले पराजित ग¥यो। निर्धारित २०–२० मिनेटको खेलमा सानोगौचरणको तर्फबाट म्यान अफ दी म्याच दिनेश व्यञ्जनकारले प्रतियोगिताकै पहिलो ह्याट्रिक गरे भने आकाश गुरुङ र प्रदीप लामाले एक–एक गोलको योगदान दिए।
प्रमख अतिथिले रेफ्रीद्वय अर्जुन गुरुङ र राजेन्द्र तामाङलाई बल हस्तान्तरण गरी सुरु भएको दोस्रो खेलमा चौघडा एफसी हेटौंडाले पोखराको हिमालयन क्लब बाटुलेचौरलाई ६–० ले पराजित ग¥यो। चौघडाको लागि अजय मानन्धर र ज्ञानु क्षेत्रीले दुई–दुई तथा म्यान अफ दी म्याच नवराज बज्राचार्य र सञ्जय थापाले एक–एक गोल गरे। बिहीबार छवटा खेल हुने प्रचार–प्रसार उपसमितिका संयोजक मनकाजी गुरुङले जानकारी दिए।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै लक्ष्मी ग्रुपका अध्यक्ष एव. उद्योगपति गणेशबहादुर श्रेष्ठले पोखरामा खेलकुदमार्फत पर्यटक ल्याउन सकिने हुँदा पोखरालाई खेलकुद पर्यटनको सहर बनाउन यस प्रतियोगिताले अहम् भूमिका खेल्ने बताए।
सोही अवसरमा फुटबल खेल विकासमा विशेष योगदान दिएबापत यसवर्ष पूर्व खेलाडी, पूर्व राष्ट्रिय रेफ्री शम्भु कार्कीलाई सम्मान गरिएको थियो। प्रमुख अतिथिले ताम्रापत्र, बगर भाइखलकका सल्लाहकार दिनेश श्रेष्ठले दोसल्ला तथा अध्यक्ष दिलबहादुर गुरुङले खादा लगाएर सम्मान गरेका थिए।
यस्तै सगरमाथा आरोहणको तयारीमा लागेका पोखराका एचआईभी सङ्क्रमित गोपाल श्रेष्ठलाई सम्मानसहित बगर भाइखलकले २० हजार आर्थिक सहयोग ग¥यो। संस्थाका अधयक्ष दिलबहादुर गुरुङले श्रेष्ठलाई सो रकम हस्तान्तरण गरेका थिए।सो अवसरमा सम्मानित व्यक्तित्व शम्भु कार्कीले सम्मानिले आफूलाई समाज र खेलकुदप्रति समर्पित भएर लाग्न अझ प्रेरित गरेको बताए।
अर्का सम्मानित गोपाल श्रेष्ठले एचआईभी सङ्क्रमितहरू समाजमा खुलेर आउन सकून्, उनीहरूलाई समाजे हेर्ने दृष्टिकोण परिवर्तन होस् भन्ने सन्देश दिन आफूले आउँदो अप्रैलमा सगरमाथा आरोहण गर्न लागेको बताए। उनले बगर भाइखलकको सहयोगले क्याम्पिङ गर्न सहयोग पु¥याउने दाबी गरे।
संस्थाका अध्यक्ष दिलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रचार–प्रसार उपसमितिका संयोजक एवं सचिव मनकाजी गुरुङले स्वागत मन्तव्य र महासचिव यामबहादुर गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए।
मङ्सिर २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौंबाट प्रसिद्ध अभिनेता धीरेन शाक्यको फोर्टी प्लस, पूर्व राष्ट्रिय खेलाडी विराटजंग शाहको सानो गौचरण नाइट किड्ड क्लब, सिभिल एमवाईसी, क्लब मोसिससहित चार टीम, हेटौंडाबाट एक टीम चौघडा एफसी तथा स्थानीय गरी करिब १४ टीमले सहभागिता रहेको छ।
प्रतियोगिता सम्पन्न गर्न सात लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितामा विजेता टीमलाई ४४ हजार चार सय ४४ तथा उपविजेता टीमलाई नगद ३३ हजार तीन सय ३३, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने बगर भाइखलक नेपालका महासचिव यामबहादुर गुरुङले जानकारी दिए। यस्तै प्रत्येक खेलमा म्यान अफ दी म्याच, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई विशेष पुरस्कार तथा प्रतियोगितामा सहभागीमध्ये ज्येष्ठ खेलाडीलाई सम्मान गरिने छ।

Comment