चौथो एस.ओ.एस. ग्रुप बगर भाइखलक एट–ए–साइड भेट्रान्स फुटबल प्रतियोगिता

 
पोखरा

बगर भाइखलक कास्की, नेपालको आयोजनामा बुधबारदेखि पोखरामा सञ्चालन हुने ४० वर्ष माथिका खेलाडीको लागि चौथो एस.ओ.एस. ग्रुप बगर भाइखलक एट–ए–साइड भेट्रान्स फुटबल प्रतियोगिता सुरु हुँदैछ। पुरानो टुँडिखेलस्थित राष्ट्रिय उमाविको खेल मैदानमा मङ्सिर २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौंबाट प्रसिद्ध अभिनेता धीरेन शाक्यको फोर्टी प्लस, पूर्व राष्ट्रिय खेलाडी बालगोपाल महर्जनको अल स्टार्स, पूर्व राष्ट्रिखेलाडी विराटजंग शाहको सानो गौचरण नाइट किड्ड क्लबसहित चार टीम, हेटौंडाबाट एक टीम चौघडा एफसी तथा स्थानीय गरी करिब १४ टीमले सहभागिता रहेको छ।
प्रतियोगिताको उद्घाटन बुधबार साढे १२ बजे लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले गर्नेछन्। उद्घाटन समारोहमा फुटबल खेल विकासमा विशेष योगदान दिएबापत एक जना पूर्व खेलाडीलाई सम्मान गर्ने कार्यक्रमअन्तर्गत यसवर्ष पूर्व खेलाडी, पूर्व राष्ट्रिय रेफ्री शम्भु कार्कीलाई ताम्रपत्र एवं दोसल्लाले सम्मान गरिने प्रचार–प्रसार उपसमितिका संयोजक मनकाजी गुरुङले जानकारी दिए।
यस्तै सगरमाथा आरोहण गर्ने तयारीमा लागेका पोखराका एचआईभी सङ्क्रमित गोपाल श्रेष्ठलाई पनि सम्मान र आर्थिक सहयोग गर्ने कार्यक्रम रहेको छ।
प्रतियोगिता सम्पन्न गर्न सात लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितामा विजेता टीमलाई ४४ हजार चार सय ४४ तथा उपविजेता टीमलाई नगद ३३ हजार तीन सय ३३, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने बगर भाइखलक नेपालका महासचिव यामबहादुर गुरुङले जानकारी दिए। यस्तै प्रत्येक खेलमा म्यान अफ दी म्याच, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई विशेष पुरस्कार तथा प्रतियोगितामा सहभागीमध्ये ज्येष्ठ खेलाडीलाई सम्मान गरिने छ।

Comment