सोनिक र आयुष्मा उत्कृष्ट

shootinge
सोनिक भण्डारी र आयुष्मा केसी उपत्यकाव्यापी विद्यालयस्तरीय सुटिङ प्रतियोगितामा सोमबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । तक्षशिलाकाद्वय सोनिक छात्र र आयुष्मा छात्रातर्फ उत्कृष्ट भएका हुन् । दुवैले सर्वाधिक समान १३–१३ बुल प्रहार गरे ।
स्पोर्ट्स फर अल कमिसन तथा नेपाल सुटिङ संघद्वारा संयुक्त आयोजित प्रतियोगिताअन्तर्गत व्यक्तिगत स्पर्धाको छात्रमा सोनिक पहिलो भए । उनले १ सय ९३ अंक जोडे । कान्तिपुरीका रुपक पाठक दोश्रो र सक्षम कार्की तेश्रो भए । सोही स्पर्धाको छात्रामा कान्तिपुरीकी सुस्मिता नेपाल १ सय ९३ अंकसाथ पहिलो भइन् । तक्षशिलाकी आयुष्मा केसी दोश्रो र सैनिक आवसिय महाविद्यालयकी सिमरन थापा तेश्रो बने । व्यक्तिगत स्पर्धा २ सय पूर्णाङ्कमा प्रतिस्पर्धा भएको थियो ।
सातदोबाटोस्थित सुटिङ रेन्जमा भएको प्रतियोगिताको छात्र टिम इभेन्टमा कान्तिपुरी ५ सय ६८ अंकमा पहिलो भयो । सैनिक दोश्रो र तक्षशिला तेश्रो भए । त्यस स्पर्धाको छात्रामा ५ सय ६५ अंक जोडेको सैनिक पहिलो स्थानमा रह्यो । तक्षशिला दोश्रो र कान्तिपुरी तेश्रो भए । टिम स्पर्धा ६ सय पूर्णाङ्कको थियो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पा, सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा १६ छात्र र १३ छात्रा गरी कूल २९ खेलाडीले ४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताअघि मैत्रीपूर्ण सुटिङ पनि भएको थियो ।

Comment