कास्की जिल्ला क्रिकेट सङ्घप्रति खेलाडीका आक्रोश छनोट पूर्वाग्रही भएको आरोप

पोखरा
भर्खरै पोखरामा सम्पन्न कास्की जिल्ला अन्तरक्लब क्रिकेट प्रतियोगितामा च्याम्पियन बनेको माछापुच्छ«े्र क्रिकेट क्लबका खेलाडी तथा पदाधिकारीले कास्की जिल्ला क्रिकेट सङ्घप्रति आक्रोश व्यक्त गरेका छन्। उनीहरूले पोखरामा आइतबार पत्रकार सम्मेलन गरि सङ्घले उपविजेता टीमलाई प्राथमिकता दिएको बताए ।
विगत १४ वर्षदेखि पोखरामा क्रिकेट खेल्दै आएका दिपेश खत्रीलाई उनको अनुभव र दक्षता हेरि जिल्ला टीमको क्याप्टेन दिइनुपर्ने एमसीसीका प्रशिक्षक सुमन गुरुङको जिकिर छ।
‘दिपेश जत्तिको अनुभवी खेलाडी यहाँ कोही छैनन् तर उनलाई छायाँमा पार्न सङ्घले पटक–पटक षड्यन्त्र गरिरहेको छ’–सुमनले भने। फाइनल खेल ९० रन जितेको टीम क्याप्टेन किन जिल्ला प्रतियोतिगाका लागि क्याप्टेनमा छानिएनन् ?’–गुरुङले प्रश्न गरे। ‘राम्रालाई नभई हाम्रा’ लाई टीममा हाल्ने प्रवृत्ति बढ्दै गएको उनले बताए ।
जिल्ला प्रतियोगिताका लागि छानिएका १४ खेलाडीमध्ये उत्कृष्ट प्रदर्शन गर्दागर्दै एमसिसीका राजु गुरुङलाई टीममा नपारिएको उनीहरूको आरोप छ ।
‘राजुले पहिलो खेलमा अभिजित २८ रनसहित २ विकेट लिएर म्यान अफ द म्याच पाए, सेमिफाइनलमा ४ मेडन राख्दै फाइनलको २ विकेटसहित उनले प्रतियोगिताभर ६ विकेट लिए, तर छनौटकर्ताले उनलाई टीममा राखेनन्’–माछापुच्छे्र क्रिकेट क्लबका टीमकोच सुमन गुरुङले पत्रकारमाझ भने ।
पारस खड्काको विशाल वारियर्सबाट एनपीएल खेलेका खेलाडीलाई जिल्लास्तरीय प्रतियोगिताबाट पनि नछान्नु विडम्बना भएको उनले जनाए ।
‘फाइनल खेल सुरु हुन लाग्दा सङ्घले हामीलाई दुईजना खेलाडी बाहिरको राखेको भन्दै खेलमा रोक समेत लगायो’–टीम क्याप्टेन दिपेश खत्रीले भने। सोही विषयमा विवाद सृजना भएपछि फाइनल खेला निर्धारित समयभन्दा झण्डै ढेड घण्टा ढिलो गरि सुरु भएको थियो।
फुकुवा नभएको भन्दै विष्णु पाण्डे र प्रेम राणालाई फाइनल खेल्नबाट रोेकेको खत्रीले आरोप लगाए। ‘यदि उनीहरूलाई खेल्न नदिने हो भने पहिलो खेलमै रोकिनपर्दथ्यो, तर फाइनलमा पुगेपछि किन ?’ उनले प्रश्न गरे।
सङ्घको निकम्मापनका कारण राम्रा खेलाडीहरू छनौट हुनबाट बन्चित हुनु परेको उनको आक्रोश थियो। पत्रकार सम्मेलनमा उपस्थित क्रिकेटप्रेमी प्रकाश श्रेष्ठले सङ्घले प्रतियोगिता आयोजना गर्नुअघि पूर्व तयारी गरेको भए यस्तो स्थितिको सृजना नहुने बताए ।
‘छनौटकर्ताहरूले कुन खेलाडी कहाँका हुन, उनीहरूलाई यो प्रतियोगिता खेलाउन मिल्ने थियो वा थिएन भन्ने कुरा पहिल्यै जाँचबुझ गर्नुपथ्यो’–श्रेष्ठले भने–‘राम्रो खेल देखाइसकेपछि अब उनीहरूलाई यो वा त्यो बहानामा खेल्नबाट रोक्न मिल्दैन।’
‘प्रतियोतिगा खेल्न टीम नपुग्ने भएपछि स्थानीय अरण्यज्योती क्रिकेट क्लबसङ्घ मर्ज गरेर खेल्छौं भन्दा पनि सङ्घले दिएन, खोज्दा खोज्दा तीन जना खेलाडी बाहिरबाट ल्यायौं’– खत्रिले भने–‘उनीहरूले यहाँबाट खेल्न नपाउने नै हुन् भने पहिलो खेलमै उनीहरूलाई रोक्नुपर्दथ्यो।’
‘पोखरा क्रिकेट क्लबका खेलाडीहरूले यहाँ जे गरे पनि हुन्छ, तर अनुशासन र नियम जति अरु टीमलाई मात्र लाग्छ’– खत्रीले भने। केही समयअघि पोखरामा सम्पन्न अन्तरविद्यालय क्रिकेट प्रतियोतिगामा पनि पोखरा क्रिकेट क्लबबाट खेल्ने खेलाडीहरूलाई कुमुदिनी होम्सबाट खेलाएको उनले आरोप लगाए ।
‘खै उनीहरूलाई सङ्घले हेरेको ?’–नाम किटान गर्दै खत्रीले भने–‘सुमन घिमिरे, आश्विनी थापामगर, रमेश सुवेदी र पवन कहाँका खेलाडी हुन् ?’
सेलेक्टरहरूले खेल नहेरी कोठामै बसेर खेलाडी छान्ने संस्कारको विकास हुँदै गरेको पनि उनले बताए। करण केसीलाई आफूहरूले बागलुङबाट खोजेर ल्याएको उदाहरण प्रस्तुत गर्दै उनले भने–‘हामीले खेलाडी खोज्छौं तर त्यसको जस सङ्घले लिन्छ।’
सङ्घको सुस्तताकै कारण यहाँ १० वर्षदेखि क्लब पनि बढ्न नसकेको र खेलाडी उत्पादन पनि हुन नसकेको खत्रीले आरोप लगाए।
‘अहिलेसम्म पनि किन पाँच क्लब हुन सकेनन्, अनि विद्यालयस्तरीय प्रतियोगितामा चार विद्यालयमात्रै किन ? सङ्घ सक्रिय भएको भए यस्तो हुने थियो हालत ?’– खत्रीले प्रश्न गरे।  सोमबारदेखि पोखरामा शुरु हुन लागेको जिल्लास्तरीय प्रतियोगितामा पनि आफूले नखेल्ने खत्रीले बताए ।

Comment