लिला र निशालाई स्वर्ण

judooe
नेपाली सेनाकी लिला अधिकारी र पुलिसकी निशा चोधरी अल नेपाल सिनियर जुडो प्रतियोगितामा शनिबार स्वर्ण जित्न सफल भएका छन् ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको महिला ५२ केजीमुनि फाइनलमा १२ औं दक्षिण एसियाली खेलकुदकी रजत विजेता लिलाले रसुवाकी सर्मिला तामाङ्गलाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । यस्तै ६३ केजी मुनिको उपाधी भिडन्तमा निशाले सेनाकी सुशिला चन्दलाई पराजित गर्दै प्रथम स्थान प्राप्त गरिन् ।
ओलम्पिक डेको उपलक्ष्यमा नेपाल जुडो संघ र स्पोर्ट्स फर अल कमिसनद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष ६६ केजी मुनि सेनाका भिम कुमार राईले प्रहरीका सुनिल बि.क.लाई पाखा लगाउंदै स्वर्ण प्राप्त गरे । ७३ केजी मुनिको खेलमा पुलिसका सन्जित डङ्गोलले सेनाका जङ्ग बहादुर सारुलाई पराजि गर्दै स्वर्णलाई आफ्नो खल्तिमा हाल्न सफल भए ।
यसै क्रममा अक्टोबर ५ मा ताजाकिस्तानमा आयोजना हुने चौथौं जुडो ताजाकिस्तान प्रेसिडेन्ट कपमा सहभागी हुन जाने खेलाडीहरुको ८१ केजी भन्दा माथीको तौल समूहको छनोट खेलमा प्रथम हुंदै सेनाका सूर्यमान लामा छनोट हुन सफल भएको नेपाल जुडो संघका महासचिव धर्म कुमार श्रेष्ठले जानकारी गराए ।
विजेता खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ, संघका पदाधीकारीहरुले पुरस्कार वितरण गरेका थिए ।

Comment