एभीएमको उत्कृष्ट सुरुआत

tabletennis1
आदर्श विद्या विद्या मन्दिर (एभीएम) ले सातौं पूर्णमान वज्राचार्य स्मृति टेबलटेनिस प्रतियोगिताको पहिलो दिन आइतबार तीन स्वर्ण जित्दै उत्कृष्ट सुरुआत गरेको छ । स्कुलतर्फ सिंगल्सको ब्वाइज यु–१२ मा सन्योग कपाली, ब्वाइज यु–१४ मा रितिज जोशी र गल्र्स यु–१४ मा दिक्षा तामाङले एभीएमलाई स्वर्ण दिलाए ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षकण केन्द्रमा सन्योगले आफ्नै स्कुलका डिकेन महर्जनलाई ११–३, ११–७ र ११–५ को सोझो सेटमा पराजित गरे । नियोलोजियन एकेडेमीका सन्दिप थापा मगर तथा एभीएमका सन्जिव गुरुङ तेश्रो भए ।
रितिजले पनि फाइनलमा आफ्नै स्कुलका आशिष शर्मालाई निराश पार्ने क्रममा ११–६, ११–८ र ११–८ को नतिजामा विजयी भए । क्याम्ब्रिज पब्लिक स्कुलकारोहितकुमार शंकर र एभीएमका सुधाकर खत्री तेश्रो बने ।
दिक्षाले अनुपम विद्यासदनकी अन्जु पोखरेललाई ११–८, ११–७ र १३–११ ले पाखा लगाउदै गल्र्सतर्फ पहिलो स्वर्ण चुम्ने खेलाडी बनिन् । पुष्पसदन बोर्डिङ स्कुलकी श्रृष्टि मानन्धर र प्रभात इङलिस उमाविकी अन्जु सुवाल संयुक्त रुपमा तेश्रो भए ।
प्रतियोगिताको अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले राष्ट्रिय खेलाडी रविना महर्जनलाई खेल सामाग्री प्रदान गरी उद्घाटन गरे ।
अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजितप्रतियोगिताअन्तर्गत स्कुलतर्फ १ सय २५ र कलेजतर्फ ५० गरी जम्मा १ सय ७५ खेलाडीको सहभागिता रहेको आयोजक संघका अध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।त्रिपुरेश्वरस्थित सलिम स्पोर्ट्स इन्टरप्राइजेजको मुख्य प्रायोजनमा सञ्चालित प्रतियोगिता बुधबारसम्म चल्नेछ ।

Comment