बास्केटबल प्रशिक्षक प्रेम सम्मानित

prem hona
टोखास्थित नितेन मेमोरियल स्कुल (निम्स) ले बास्केटबल प्रशिक्षक एवं पूर्व राष्ट्रिय बास्केटबल खेलाडी प्रेमसुन्दर होनालाई सम्मान गरेको छ ।
निम्सकै बास्केटबल प्रशिक्षक रहेका प्रेमलाई यो वर्ष निम्सको सिनियर छात्र टोलीलाई विभिन्न ७ उपाधि दिलाएवापत सम्मान गरिएको हो । यो वर्ष निम्सको सिनियर छात्र टोलीले हिम्स, बाबा, रेडिअन्ट, पेनउड, टीआईए, एक्सेल्सियर र जितेन ठकुरी स्मृति बास्केटबलको उपाधि जित्न सफल भएको थियो ।
निम्सकी प्रमुख कार्यकारी अधिकृत निकोल ठकुरीले प्रेमलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिन् ।
प्रेम ट्रिनिटी इन्टरनेसनल कलेजका पनि प्रशिक्षक हुन् । उनले ट्रिनिटीलाई यु–१९ राष्ट्रिय पुरुष बास्केटबल र यु–१८ थ्री बाई थ्री राष्ट्रिय बास्केटबलको उपाधि पनि दिलाइसकेका छन् ।
केहि समयअघि प्रेम डाफोडिल स्कुलका पनि प्रशिक्षक थिए । डाफोडिलको प्रशिक्षक रहँदा प्रेमले प्रथम राष्ट्रिय जुनियर च्याम्पियनसिपअन्तर्गत बास्केटबलको ब्वाइज र गल्र्स दुवैमा डाफोडिल च्याम्पियन बनेको थियो ।
त्यस्तै सन् २०१३ को जुलाईमा बंगलादेशमा भएको तेश्रो यु–१६ ब्वाइज क्वालिफाइङ बास्केटबल च्याम्पियनसिपमा प्रेमले नेपाल टोलीको सहायक प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । त्यति बेला नेपाल तेश्रो भएको थियो ।
प्रेमले विभिन्न बास्केटबल प्रतियोगितामा रेफ्रीको भूमिका पनि निर्वाह गर्ने गर्छन । कक्षा सात (सन् १९९७) देखि खेल्न सुरु गरेको प्रेमले ४ वर्षअघि खेल्न छाडेका थिए ।

Comment