प्याब्सन स्पोर्टस् मिटमा सिनियर तथा जुनियर फुटबल खेल प्रारम्भ

पोखरा ः
प्याब्सन कास्कीको आयोजना, क्षेत्रीय एवं जिल्ला खेलकुद विकास समितिको व्यवस्थापन तथा कास्की जिल्ला फुटबल सङ्घको सहयोगमा यही मङ्सिर २५ गतेदेखि पुस २ गतेसम्म पोखरामा सञ्चालन हुने १४ औं प्याब्सन स्पोर्टस् मिट–२०७१ अन्तर्गत शुक्रबारदेखि सिनियर तथा जुनियर फुटबलका खेल प्रारम्भ भएका छन् । जसअन्तर्गत शुक्रबार जुनियरतर्फ १२ तथा सिनियरतर्फ १० खेल सम्पन्न भए।
प्याब्सन कास्कीका अध्यक्ष एवं १४ औं प्याब्सन स्पोर्टस् मिट २०७१ का मुख्य संयोजक चिनु रानाभाट र जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले संयुक्तरूपमा उद्घाटन गरेको सिनियर लेभलको खेलमा बेसलाइन एकेडेमीले बालोदय उमाविलाई ३–१ ले पाखा लगायो। यस्तै हिलपोइन्ट हाइस्कुलले न्याश्नल इन्भेन्टिभ उमाविलाई २–१ ले, सनफ्लावर बोर्डिङ स्कुलले गुरुकुल विद्याश्रमलाई २–० ले, पि.के.जी. ले ज्ञानुबाबा आवासीय उमाविलाई टाइब्रेकरमा ४–३ ले, स्नो भ्यू एकेडेमीले पोखरा लर्नर्स एकेडेमीलाई १–० ले, पोखरा युनाइटेडले पश्चिमाञ्चल उमाविलाई ३–१ ले, लक्ष्मी आवासीय विद्यालयले शिशुकल्याण बोर्डिङ स्कुललाई ३–१ ले,  भ्यू पोइन्ट बोर्डिङ स्कुलले नीलगिरि बोर्डिङ स्कुललाई ३–० ले, र हाइवे गार्डेन बोर्डिङ स्कुलले रिभरडेल बोर्डिङ स्कुललाई १–० ले तथा ग्लोबल कलिजियट उमाविले  स्पाइरल ग्यालेक्सी स्कुललाई ३–० ले पराजित गरेको छ ।
फुटबल खेल संयोजक जगत थापा र १४ औं प्याब्सन स्पोर्टस् मिट २०७१ का संयोजक कर्णबहादुर गुरुङले संयुक्तरूपमा हेमजामा उद्घाटन गरेको जुनियर लेभलको खेलमा पश्चिमाञ्चल उमाविले पोखरा क्रियटिभ बोर्डिङ स्कुललाई ७–० ले पराजित ग¥यो। अर्को खेलमा बेथानी उमाविले भानुभक्त आवासीय बोर्डिङ स्कुललाई टाइब्रेकरमा ४–३ ले पाखा लगायो। बालकल्याण उमाविले बालप्रभात उमाविलाई ५–० ले हरायो। सवलाइम बोर्डिङ स्कुलले  प्रगति उमाविलाई टाइब्रेकरमा ३–१ ले पराजित ग¥यो।
यस्तै पास्कल एकेडेमीले लिटिल स्टेप उमाविलाई ३–१ ले, नीलगिरि बोर्डिङ स्कुलले माउन्ट अन्नपूर्ण उमाविलाई ३–० ले, सिद्धार्थ बोर्डिङ स्कुलले न्यू मोडल उमाविलाई ४–३ ले, पोखरा एकेडेमीले पोखरा युनाइटेडलाई ४–० ले, प्रतिभा उमाविले सृजना उमाविलाई १–० ले, ताराकुञ्ज बोर्डिङ स्कुलले र पि.के.जि. लाई १–० ले, डिज्नील्याण्ड एकेडेमीले डाइनामिक बोर्डिङ स्कुललाई ५–० ले तथा पोखरा स्पाइरल एकेडेमीले मेट्रोपोलिटन एकेडेमीलाई २–० ले पराजित गरेको खेल संयोजक जगत थापाले जानकारी दिए।
जुनियर लेभलको खेल हेमजाको विष्णुपादुका र गौरीशंकर खेलमैदानमा तथा सिनियर लेभलको खेल क्षेत्रीय सशस्त्र प्रहरी गण पार्दी र सशस्त्र अञ्चल प्रहरी गुल्म, शहीद चोकको खेलमैदानमा सञ्चालन भएको छ । जुनियर फुटबल प्रतियोगितामा ६९ तथा सिनियर फुटबलमा ६८ विद्यालयको सहभागिता रहेको छ । फुटबलमा टीम धेरै भएकोले शुक्रबारदेखि नै खेल सञ्चालन गर्नुपरेको हो ।
कुल २६ स्वर्ण, २६ रजत तथा २६ कास्यपदकको लागि एक हप्तासम्म प्रतिस्पर्धा हुने १४ औं प्याब्सन स्पोर्टस् मिट–२०७१ मा प्याब्सन कास्कीसँग आवद्ध एक सयमध्ये ९१ वटा विद्यालयको सहभागिता रहेको छ । जुनियर लेभलदेखि खेलाडी उत्पादन गर्ने सर्तमा यसपटकदेखि जिल्ला खेलकुद विकास समिति कास्कीले सम्पूर्ण खेलको लागि खेलसामग्री निःशुल्करूपमा उपलब्ध गराएकोे छ । प्रतियोगिताको औपचारिक उद्घाटन भने मङ्सिर २५ गते पोखरा रड्डशालामा हुनेछ ।

Comment