१४ औं प्याब्सान स्पोर्टस् मिट मङ्सिर २५ देखि, तयारी पूरा

पोखरा प्याब्सन कास्कीको आयोजना, क्षेत्रीय एवं जिल्ला खेलकुद विकास समितिको व्यवस्थापन, कास्की जिल्ला भलिबल सङ्घ, कास्की जिल्ला फुटबल सङ्घ, कास्की जिल्ला एथलेटिक्स सङ्घ तथा कास्की जिल्ला टेबलटेनिस सङ्घको सहयोगमा यही मङ्सिर २५ गतेदेखि पुस २ गतेसम्म पोखरामा सञ्चालन हुने १४ औं प्याब्सन स्पोर्टस् मिट–२०७१ को तयारी पूरा भएको छ ।
कुल २५ स्वर्ण, २६ रजत तथा २६ कास्यपदकको लागि एक हप्तासम्म प्रतिस्पर्धा हुने १४ औं प्याब्सन स्पोर्टस् मिट–२०७१ मा प्याब्सन कास्कीसँग आवद्ध एक सयमध्ये ९१ वटा विद्यालयको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
फुटबल, भलिबल, एथलेटिक्स, टेबुलटेनिस गरी छ इभेन्टमा हुने प्रतियोगितामा जुनियर फुटबलमा ६९, सिनियर फुटबलमा ६८, छात्र भलिबलमा २९, छात्रा भलिबलमा १४, एथलेटिक्समा छात्रतर्फ ७१, छात्रातर्फ ५६, टेबुलटेनिसमा छात्रतर्फ ४१ तथा छात्रातर्फ २१ विद्यालयको सहभागिता रहनेछ।
कक्षा १० सम्मका खेलाडी विद्यार्थीलाई सहभागी गराइँदै आएको प्रतियोगितामा ९१ विद्यालयका छ हजार चार सय ५० विद्यार्थी खेलाडी, ७५ जना खेल प्राविधिक र तीन सय ८० भन्दा बढी खेल प्रशिक्षक,व्यवस्थापक र संरक्षकले प्रत्यक्षरूपमा सहभागी हुने प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाटले जानकारी दिए। साथै प्रत्येक दिन १२ हजार भन्दा बढी विद्यार्थी, अभिभावक र दर्शकले खेलकुद अवलोकन गर्ने अपेक्षा गरिएको उनले बताए।
एथलेटिक्सतर्फ छात्रछात्रा एक सय मिटर, दुई सय मिटर, चार सय मिटर, १५ सय मिटर दौड तथा १००ह४ रिले दौड, हाइजम्प, लङजम्प र सटपुट–थ्रोका खेल समावेश गरिएका छन्। प्रत्येक दुई–दुई वर्षमा सञ्चालन हुने प्रतियोगिता सञ्चालन गर्न १५ लाख खर्च लाग्ने अनुमान गरिएको छ। खेल दर्ता शुल्क, विद्यालय सदस्यता नवीकरण शुल्क र विभिन्न सहयोगी संस्थाबाट लिइने प्रायोजन सहयोगबाट उक्त बजेटको जोहो गरिने प्याब्सन कास्कीका सचिव षडानन्द गौतमले जानकारी दिए।
जुनियर फुटबल हेमजामा तथा सियिनर फुटबल अञ्चल प्रहरी कार्यालय र क्षेत्रीय प्रहरी गणको खेलमैदानमा सञ्चालन हुनेछ। फुटबलमा टीम धेरै भएकोले मङ्सिर २० गतेदेखि नै सञ्चालन हुनेछन् भने मार्चपास, भलिबल, एथलेटिक्स र टेबुलटेनिसका खेल भने पोखरा रड्डशालामै हुनेछन्।
पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटाले पोखरा खेलकुदको राजधानी भनिँदै आए पनि जुनियर लेभलमा खेलाडी उत्पादन हुन नसकेको महसुस गर्दै यसपटकदेखि जुनियर लेभलदेखि खेलाडी उत्पादन गर्ने सर्तमा खेलकुद विकास समितिले सहयोग गर्न लागेको बताए।
उनले भने–‘विगतमा खेलकुद आयोजना गर्ने प्याब्सन, एन–प्याब्सान र युनिप्सलगायतका संस्थालाई खेलमैदान र उपकरण भाडामा दिइन्थ्यो, यसपटकदेखि हाम्रा सम्बन्धित कोचहरूले छनौट गरेका खेलाडीलाई रड्डशालासम्म ल्याउने र लाने व्यवस्था गर्ने र खेलकुद विकास समितिले तालिम दिने सर्तमा हामी खेलमैदान र उपकरण निःशुल्क सहयोग गर्न लागेका छौं।’
उनले यसले गर्दा आगामी दिनमा पोखराबाट राष्ट्रिय खेलाडी उत्पादन गर्न सहयोग पु¥याउनेमा आफू आशावादी रहेको बताए । उनले विगतदेखि खेलकुदमा लगानी गरेका विद्यालयहरूलाई प्रोत्साहन गर्न पनि यस किसिमको योजना अगाडि सारिएको भन्दै यसको सिको गर्न अन्य संस्थालाई पनि आग्रह गरे ।
‘विगतमा राष्ट्रियस्तरका महिला भलिबल खेलाडी हाम्रै क्षेत्रबाट अधिकांश हुन्थे तर अहिले टीम पु¥याउन पनि गाह्रो भएको छ, यस किसिमको समस्या आगामी दुई वर्षभित्रमा समाधान हुनेछ भन्ने हामीलाई विश्वास छ’–उनको भनाइ थियो।
प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाटले खेलकुद विकास समितिसँग सहकार्य गरेर अगाडि बढेकोले आगामी दिनमा सम्बन्धित खेलमा राष्ट्रिय खेलाडी उत्पादन गर्न ठूलो सहयोग पु¥याउने विश्वास व्यक्त गरे। उनले प्रतियोगिताको उद्घाटन मङ्सिर २५ गते शिक्षामन्त्रीबाट गराइने जानकारी दिए।
प्याब्सन कास्कीका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक चिनु रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा  सहसंयोजक कर्णबहादुर गुरुङ र सचिव षडानन्द गौतमले पनि बोलेका थिए। प्याब्सन कास्कीले प्रत्येक दुई वर्षमा प्याब्सन स्पोर्टस् मिट गर्दै आएको छ।
प्याब्सनको स्थापनाकाल वि.सं. २०४७ देखि ‘शिक्षासँगै खेलकुदको विकास’ गर्ने उद्देश्यले प्याब्सन स्पोर्टस् मिट सञ्चालन गर्दै आएको छ ।

Comment